एका बिहानै
काकाको पसलको टेलिफोनबाट आमा आइन्,
र सोध्दैछिन्, बाबु तेरो हालखबर के छ ?
हालखबर बताउँदै, आमाबाटै सुन्छु म;
गाउँको हालखबर ।
आमा सोध्छिन्– "काम के गर्दैछस् ?"
"काम गरिरहेकै छु आमा"– म भन्छु ।
"त्यो त थाहा छ, के काम गरिरहेको छस्, भनेको ?"
म भन्छु– ‘बलियो घर’ नामको टेलिभिजन कार्यक्रमका लागि
काम गरिरहेको छु, आमा ।
सायद, जवाफ् मन परेन आमालाई,
या नबुझेर भनिन्– "के फाइदा छ त्यसमा लागेर ?"
"फाइदा ? फाइदा छ नि आमा ।"
बलियो घर किन चाहिन्छ ?,
कसरी बनाउनु पर्छ ?,
भूकम्प प्रतिरोधी घर भनेको के हो ? भनेर
बुझ्दै/बुझाउदै छौँ नि सबैलाई ।
"अनि हाम्रो घर बलियो हो त ?"
"होइन आमा ।"
"तेरा बा'ले बनाइदिएका गाँउलेका घर नि ?"
"होइनन् आमा ।"
खै यहाँ त कसैले–कहिल्यै सिकाएनन्, बुझाएनन् ।
तिमी बुझ्दै–बुझाउने र सिक्दै–सिकाउनेहरु
सहरमा छौ र भन्छौँ ।
बुझ्दै/बुझाउदै छौँ नि सबैलाई ।
थाहा छ...?
तीन हप्ता भयो तँलाई फोन गर्न खोजेको
तर, आज मात्रै बोल्न पाएँ ।
त्यहाँ त सूचनै–सूचनाहरू खाँदिएका छन् होला ।
अखबारै–अखबारहरु ओइरिरहन्छन् होला ।
रेडियो टिप्दैन यहाँ, टिभी पनि छैन ।
न अखबार पुग्छ; समाचार बोकेर
यहाँ कसले सिकाउने र बुझाउने;
के हो बलियो घर र त्यो कसरी बन्छ भनेर ?
जवाफ् दिन नपाउदै
म झल्याँस्स भएँ– टेलिफोनबाट, निद्राबाट र सपनाबाट ।
साँच्चै कसले सिकाउछ हँ, त्यहाँ ?
के हो बलियो घर, र त्यो कसरी बन्छ भनेर ?
Subscribe to:
Post Comments
(
Atom
)
0 टिप्पणी:
Post a Comment