ads

म, मेरा बा र बा'को रेडियो

डाँडामा बादल बेरिँदा र खोलामा हुरी थुनीदा समेत बा रेडियो सुन्थे ।
छिमेक मस्त निदाइसक्दासम्म पनि बाको रेडियो सुतेको हुँदैन‘थ्यो । बिहान आमा नबिउँझेकै बा‘को रेडियो उठिसकेको हुन्थ्यो ।

बा यति धेरै रेडियो प्रेमी कसरी थिए, थाहा पाइनँ ।

बा पछि घरमा रेडियो सुन्ने म थिएँ । भारतबाट कमाइ घर फर्किदा बेलाबेला बा‘ले ल्याउने गरेका ५/७ ओटा रेडियो मैले बिगारिदिएको थिएँ । रेडियोका स्वादिला शब्दहरूसामु मलाई बाको गाली वास्ता हुँदैन‘थ्यो ।

दुवै रेडियो प्रेमी थियौँ । म रेडियो सुनीरहेन्थे–बिगारी रहन्थेँ । बा इन्डिया गइरहनुहुन्थ्यो– रेडियो; नेपाल आइरहन्थ्यो ।

उमेर बढ्दै गयो । मेरो रेडियो मोहले बा‘लाई जित्यो । बिहान सबेरैदेखि राती अबेरसम्म रेडियो मेरै ओच्छयानबाट बोल्न थाल्यो ।

विद्यालयको पठनपाठन तालिका भन्दा रेडियो नेपालका कार्यक्रमहरूको प्रसारण तालिका मलाई बढी थाहा हुन्थ्यो । कैयौँ आफन्तका आवाज भन्दा त म रेडियोकर्मीका आवाज सहजै चिन्थे ।
साँझ ७ बजेको समाचार धुन बज्दा कोमल वली र म एकै साथ भन्थ्यौँ– “यो रेडियो नेपाल हो । साँझ ७ बजेको समाचारमा स्वागत छ, म कोमल वली । सुरुमा प्रमुख समाचार ।”
त्यवेला सुरेश शाही र सम्पदा शाहीले चलाउने “भलाकुसारी” कार्यक्रम र पुरुषोत्तम न्यौपानेले चलाउने “सुन्नुस् सुनाउनुस्” कार्यक्रम म बढी सुन्थे ।
राष्ट्रकवि घिमिरेकोसँगै “नाम पनि मधुवन छ, काम पनि मधुवन छ” भन्दा र नवराज लम्सालसँगै “तपाईँको सुखदुखको साथी” भन्दा बडो मजा आउँथ्यो । मधुवन मेरो बढी मन पर्ने कार्यक्रम थियो ।
०००
२०६५ सालमा एसएलसी पास भएँ । कक्षा ११–१२ पढ्न घर छोड्दा रेडियो पनि छुट्यो ।
आफन्तको घरमा मौन अध्ययन र क्याम्पस कक्षाहरूको चुपचाप श्रवणमै म सीमित भए ।
गाउँ बिरानो लाग्दै २ वर्ष बिते । वषेर्नि रेडियो किन्ने बा र घरमा सबै भन्दा बढी बोल्ने रेडियोको धेरै पटक सम्झना आउँथ्यो । रेडियो नसुन्दै सुतेको रात र रेडियो नबोल्दै बिउँझेको दिन मलाई चित्त बुझ्दो थिएन ।
०००
कक्षा १२ को परीक्षा सकियो ।
म भारतको हिमाञ्चल हान्निए ।
स्याउ बोकेर दिनको १०० रुपौँया कमाउँदै म सँग १५ हजार जम्मा भयो । आफूलाई मोबाइल फोन र बा‘लाई रेडियो किनी घर फर्किन मन थियो ।
लोभ लाग्यो ।
दुइटै किन्न सकिनँ ।
०००
म घर पुग्दा कक्षा १२ पास भएको थिएँ ।
म भित्र रेडियोकर्मी बन्ने बिउ उब्ज्यो । कसैले मिलियो जग्गा देखाइदियो ।
हिमाञ्चलबाट जोगाइल्याएको ज्याला खर्चिँदै म राजधानी पुगेँ ।
राजधानीका केही रात र दिनले मलाई रेडियोमा बोल्ने तरिका सिकए । तर तिनै दिनहरूले केही महिना भन्दा बढी रेडियोमा बोल्न दिएनन् ।
म टेलिभिजन कार्यक्रम उत्पादनको काम सिक्न थालेँ । केही उज्याला रात र मधुरा दिनहरूले– राम्रो बोल्न र लेख्न जान्नेलाई पत्रकारिताले उचाइ दिने रहेछ भन्ने सिकाए ।
विद्यमान ज्ञान र अनुभव भन्दा मेरो सिकाईको आरम्भ विन्दुसँग बेडोज अर्थ छ । किनकि नेपाली बोल्न पनि मैले रेडियो सुनीसुनी सिकेको थिएँ । विद्यालयमा त हामीले स्थानीय भाषामा पढेका हौँ ।
अहिले रेडियोहरू फ्रिक्वान्सी भन्दा वेब र एपहरूमा सहज उपलब्ध छन् र सयौँ उपलब्ध छन् ।
मधुवन सुन्न छाडेको छैन । तैपनि आजकाल म रेडियो त्यति सुन्दिन । कसले केके सुन्दा हुन्, थाहा पनि छैन । रेडियो दिवसको दिन– रेडियो याद आयो, बा याद आए ।
अहिले मेरा बा जस्ता रेडियो प्रेमीहरू भने कति छन् खै ?
गूगलप्लसमा शेयर गर्नुहाेस

सञ्चालक मिमराज

मिमराज पाण्डेय विदेश नीति अनलाइनका संस्थापक हुन् । उनी भूकम्प पछिको नेपालको पुनर्निर्माणमा केन्द्रित साप्ताहिक टेलिभिजन कार्यक्रम बलियो घरको रिपोर्टर/रिसर्चर पनि हुन् । अल थ्री मिडिया घर प्रालिमा करिब ४ वर्ष अघिदेखी रिर्पोटरको रूपमा काम गर्दै आएका मिमराज पर्यटन, विदेश मामिला, विकास र साहित्यिक पत्रकारितामा विशेष रुचि राख्दछन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रको विद्यार्थी भएकाले लेख्न अलि रुचाउछन्, उनी । ...

0 टिप्पणी:

Post a Comment