ads

सलाङ भिलेज फार्म ट्रिप र गोरखा भूकम्प


मौलाउदो पर्यटन व्यवसाय सँगै विस्तारीत पर्यटन क्षेत्र, अझ त्यसैमा ग्रामीण पर्यटन पनि त आफ्ना सुनौला भाग्यरेखा कोरिरहेको छ । गाँउ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) नेपाल – ग्रामीण पर्यटन प्रवद्र्धनका लागि सक्रिय पर्यटन व्यवसायीहरुको सङ्गठन । योजना र निर्णय अनुसार उर्पयुक्त ग्रामीण पर्यटकिय स्थानहरूको पहिचान र प्रचार प्रसार गरी हरेक वर्ष नेपालको एक गाँउलाइ ‘पर्यटकिय गाँउ’ घोषण गर्दै अन्र्तराष्ट्रिय बजार सम्म पुर्याउने काम भिटोफ नेपालले गदर्छ । यसैक्रममा मकवानपुरको चित्लाङ र लमजुङको काउलेपानीले पनि पर्यटकीय दृष्टिबाट आफ्नो पहिचान स्थापित गरिरहेका छन् भने होमस्टे प्रविधिका हिसाबले समेत आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि यी क्षेत्रहरू उत्कृष्ट मानिन्छन् ।


राजधानी निकटमा रहेको धादिङ जिल्लामा पनि ग्रामीण पर्यटनका लागी उपयुक्त स्थानहरू धेरै छन् । यस मध्यकै एक : धादिङ जिल्लाको सालाङ । यो पनि एउटा ग्रामीण पर्यटकिय क्षेत्र हो । सवारी साधानको पहुच पुग्न सक्ने हो भने पर्यटकीय आर्थिक लाभ मार्फत यहीबाटै देशको आर्थिक स्तर माथि उकास्न सकिने देखिन्छ । 
२०७२ सालको आगमन सँगै गाँउ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) नेपालले यही सालाङको ग्रामीण पर्यटनको उन्नतिका लागि ‘सलाङ भिलेज फार्म ट्रिप’को आयोजना गर्यो । भिटोफ परिवार, विभिन्न पर्यटन व्यवसायी र पर्यटन पत्रकार सहितको टोलीले वैशाख, ११ गतेको बिहान ९ बजे काठमाडौँ – सोहखुट्टेबाट गन्तव्यतिरको यात्रा सुरु गर्यो । थानकोटको ओरालो लागेपछि वनको स्वतन्त्र चरी महसुस म मात्र होइन राजधानीमा निशास्सीएर बसेका प्रत्यक व्यक्तिहरूलाई हुदो हो र त, सुन्दर ग्रामीण भेगमा जान लागेकोमा सबैका अनुहार उत्साहले भरपुर देखिन्थे ।


धार्के, गजुरी, बैरेनि हुँदै सालाङ गाँउ पुगिसकेपछि बाजा गाजा र फुलमालाका साथ हामी सम्मान गरियो । गाँउमै सञ्चालित होमस्टेमा स्थानीय उन्पादनको खाना खाने सौभाग्य मिल्दा काठमाडौँ बाट पुगेका हामी निकै खुसी भयौँ । मगर सस्कृतीले भरिपूर्ण समुदायमा बिताएको ११ गतेको रमाइलो साझ अहिले पनि स्मरणमा ताजै छ । अझ होम स्टेको दिदी, आमाहरुले गरेको सत्कारको त साँचै ऋणी भएर फर्कीएको महसुस भएको छ ।


कार्यक्रम तालिका अनुसार आयोजक भिटोफ् नेपालका प्रथम उपाध्यक्ष धुर्व सिंखडाले भोलि विहनै सलाङ डाँडाको अवलोकन गरी फर्केपछि होमस्टे भएको ठाँउमा खाना खाएर काठमाडौँ फर्किने भन्ने जानकारी गराउनु भएकाले भोलिपल्ट बिहानै हामी सोही डाँडातिर लाग्यौँ ।

बिहानीको चिसो सिरेटो सँगै काँफल र एैसेलुको मिठास आहा क्या पानी निस्कीएथ्यो मुखबाट । स्थानीय सँगै रमाइला दृश्यहरू अवलोकन गर्दैै डाँडामा पुगेपछि छोटो आनन्दको शुसेली बजाइयो । टानका अध्यक्ष रमेश धमला, भिटोफ नेपालका अध्यक्ष चित्र बहादुर गुरुङ लगाएत विभिन्न पर्यटन व्यवसायीहरुका बिच केही बेरसम्म त छलफल/वहस जस्तै गफहरु भए । यति सुन्दर र हरियाली डाँडाकाँडा यही कत्ति छन्, नेपालका हरेक जिल्लामा छन् । यनिहरुको सदुपयोग र प्रवद्र्धन गर्न सके नेपालमै अझ त हरेक नेपाली ले आफ्नै गाँउमा सुन फुलाउन सक्छन् । 

यस्तै कुराहरू गर्दै केही समयपछि होमस्टेतिर झरीयो । त्यहाँ नपुग्दै बाटोमै खाजा खान पाइयो । ११ बजे होमस्टेमा पुगेपछि आयोजकहरू हाम्रा लागि औपचारिक बिदाइ कार्यक्रम तय गर्दै थिए । केही समय यताउता डुलेर विताइयो । कार्यक्रम सुरु भयो । औपचारिक कार्यक्रमको फरम्याट अनुसार प्रमुख अतिथि, अतिथि, सभाध्यक्षहरुको क्रमश आसन ग्रहण तथा मन्तव्य हुँदै थियो । 

अचानक हल्लीयो खुट्टा अड्काएको जमिन । कार्यक्रम स्थल छोडेर भागे सबै – खुला स्थान तिर, खुला त के चउर जस्तै स्थानमा कायक्रमहुदै थियो सबै खेततिर दौडे । आजसम्म सायद कसैले यतिठुलो भुइचालो महसुस गरेका थिएनन् । त्यसैले होला सबै आत्तीएका थिए । चिच्याउदै कराउदै थिए । हामीले पनि हतार हतार क्यामरा प्याक गर्याैँ र भाग्यौँ खेतको माथि माथि तिर । कसैको मोबाइल फोनले काम गरेन । को कता छ, सुरक्षित छ कि छैन कसैसँग खबर गर्न सकिएन । आमा बा – बाजुरा, म धादिङ, भाइ एक्लै काठमाडौँमा थियो । गाँउ हो त्यसैमा पनि विकट बाजुरामा पनि भौतिक संरचना त्यति सुरक्षित छैनन् । सबै सिध्यायो होला भन्ने लाग्यो ।

केही महिना अघि देखि नै भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट सँगको सहकार्यमा प्रसारित कार्यक्रम सुरक्षित समुदायका लागि भूपकम्पीय जोखिमका बारेमा रिपोर्टिङ गर्ने अवसरमा काठमाडौँका घर/भवनहरुको अवस्था पनि थाहा पाएको थिँए । त्यसैमा म बस्ने घर पनि पुरानै हो, कमजोर नै होला भन्ने थियो । घर के भयो ? भाइ सुरक्षित छ, छैन । फोनले काम गरेको छैन, थोरै मिनेट मै धेरै तनाव भयाे । 

धेरै प्रयास पछि पहिलो फोन आनन्द सर सँग भयो । म सुरक्षित छु भन्ने कुरा सुनाए । उहाँहरु पनि सुरक्षित हुनुहुन्छ भन्ने निश्चित गरेँ । सबैलाई यही पिडाले पिरोली रहेको थियो । हतार हतार कसैले खाना खाए कसैले खाएनन् । हामीले काठमाडौँका परिवार तथा आफन्तको खबर गर्नु थियो । त्यसैले तुरुन्त फर्कियौँ । केही छिन अगाडिका हरिया डाँडाहरू माटो उडेर म मधुरा भए । कहीँ ढिस्का झरेर विरुप भए धादिङको कालीदह पुगेपछि थुप्रै घरहरू भत्केका पाइयो, एउटा घरमा भने सातजना घरभित्रै पुरीएछन् चार जना घाइते लाई उद्धार गरिएको नेपाली सेनाबाट जानकारी पायौँ, तिन जनालाई भने बचाउन सकिएन छ ।

गाँउ पर्यटनको प्रवद्र्धनका लागि गएका सबै त्रसित मन बोकेर फर्किनु पर्यो । पुराना सांस्कृतिक तथा पुरातात्वीक महत्वका भौतिक संरचनाहरू, वसन्तपुर, दरबार स्क्वाएर र धरहरा गाेरखा भूकम्पमा ध्वस्त भएको तस्विरहरु फेसबुकमा देखिएसंगै नेपालको पर्यटन क्षेत्रले एक एैतिहासिक पुस्ता गुमाएको अनुभूति भइरहेको छ ।

वैशाख १५, २०७२
गूगलप्लसमा शेयर गर्नुहाेस

सञ्चालक मिमराज

मिमराज पाण्डेय विदेश नीति अनलाइनका संस्थापक हुन् । उनी भूकम्प पछिको नेपालको पुनर्निर्माणमा केन्द्रित साप्ताहिक टेलिभिजन कार्यक्रम बलियो घरको रिपोर्टर/रिसर्चर पनि हुन् । अल थ्री मिडिया घर प्रालिमा करिब ४ वर्ष अघिदेखी रिर्पोटरको रूपमा काम गर्दै आएका मिमराज पर्यटन, विदेश मामिला, विकास र साहित्यिक पत्रकारितामा विशेष रुचि राख्दछन् । अङ्ग्रेजी साहित्य र राजनीतिशास्त्रको विद्यार्थी भएकाले लेख्न अलि रुचाउछन्, उनी । ...

0 टिप्पणी:

Post a Comment